प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। विरोध गर्ने पार्टीहरूले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताए।
शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए।
उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको? भन्दै प्रश्न समेत गरे। उनले भने, ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरू खासगरी माओवादीलगायतका पार्टीहरूले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन्। अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन्। अहिले बहुत हिमायती निस्किएका छन् फेरि। बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन्। टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ।’
उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताए। उनले ७७ वटै जिल्लाका सदरमुकाममा मोटरबाटो पुर्याएको दावी गरे।
