नेपालगन्ज कोरोना संक्रमणको दोस्रो लहरले बाँकेमा रगत अभाव भएको खबर संगै अनलाइन पत्रकार संघ बाँकेले सप्ताहब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरेको छ ।

कोरोना संक्रमणको समय भएकाले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बृहत् तरिकाले रक्तदान कार्यक्रम नगरी साताब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरिएको हो।
कोरोना संक्रमण बढेसँगै बाँकेमा रगतको अभाव भएको खबर बाहिरिए संगै साताब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिए ।
उनले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताए । रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
बुधबारबाट सुरु गरिएको साताब्यापी रक्तदान अभियानमा सबैको साथ र सहयोगको खाचो भएकोले आफ्नो उपयुक्त समयमा ब्लड बैंक नेपालगन्जमा गएर रक्तदान गर्न सबैमा अपिल समेत गरिएको छ ।
रक्तदान कार्यक्रमको सुरुवात गर्दै संघका उपाध्यक्ष जावेद अन्सारीले यो महामारीको समयमा सबैले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्ने धारणा राख्दै अनलाइन पत्रकार संघले जिल्लामा भएको रगत अभावलाई थोरै भए पनि सम्बोधन होस भनेर यो अभियान सुरु गरिएको बताए ।
अनलाइन पत्रकार संघका जिल्ला सदस्य भीष्म लोध, अनलाइन खोजखबरका सम्वाददाता वसिम अन्सारी, इसेतोखरिका सम्वाददाता जनक केसीले रक्तदान गरि साताब्यापी रक्तदान अभियानको सुरुवात गरेको अनलाइन पत्रकार संघ बाँकेका सचिव रामु ओलीले जानकारी दिएका छन् । सचिव ओलीका अनुसार अगामी हप्ताको मंगलबार सम्म अभियान जारी रहने र यो कार्यमा सहभागीताको लागि आव्हान समेत गरेका छन् ।

